आज आठ दलको बागमतीस्तरीय अभिमुखीकरण



काठमाडौँ । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

यही फागुन २५ मा हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन कांग्रेसका उपसभापति मा. पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।


संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठ वटै राजनैतिक दलका प्रदेश सभा सदस्यहरुका लागि भोलि फागुन १९ गते दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । आज आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेको आफ्ना सांसदहरुका लागि शीर्ष नेताहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।