आईसीसी विश्वकप लिग- २ : नेपालले पपुवा न्युगिनीलाई  ५२ रनले हरायो



काठमाडौँ । आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवान्युगिनीलाई ५२ रनले हराएको छ ।

नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पपुवान्युगिनीले ४७ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्र बनाउन सक्यो ।


पपुवा न्युगिनीको लागि लागि टोनी उरा र नोर्मान भानुआले अर्धसतक बनाए । भानुआले सर्वाधिक ६० रन बनाउँदा उराले ५० रन बनाए । कप्तान असाद भालाले ४२ रन बनाउँदा किपलिन डोरिगाले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हालेर पहिले ब्याटिङ गरेको नेपालले ५ बल खेल्न बाँकी हुँदा २९७ रन बनाएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो ।

नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन बनाएको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो। तर पहिलो पटक नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे । उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गर्दै ११० बल खेले। उनको यो पहिलो एकदिवसीय शतक हो ।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को सतकीय साझेदारी गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल अर्धसतक बनाउन ५ रनले चुकेका थिए । उनी १८।४ ओभरमा ५६ बल खेल्दै ६ चौका प्रहार गरे।

नेपालले बाँकी ३० रन बनाउँदा थप दुई विकेट गुमाएको थियो । कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए ।

कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट हुँदा करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए ।

भीम सार्कीले ३८ बलमा आक्रमक ब्याटिङ गर्दै ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ ।

चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।