अमेरिका । अमेरिकामा नियामक निकायहरूले आइतबार अर्को बैंक बन्द गरेका छन् । सिलिकन भ्याली बैंक असफल भएको दुई दिनपछि अहिले सिग्नेचर बैंक पनि बन्द गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको बैंकिङ इतिहासमा यो तेस्रो ठूलो असफलता हो । न्यूयोर्क वित्तीय सेवा विभागले संघीय निक्षेप बीमा निगम (FDIC) ले सिग्नेचर बैंकलाई नियन्त्रणमा लिएको बताएको छ।
सिग्नेचर बैंकको वासलात अनुसार गत वर्षको अन्त्य सम्म उक्त बैंकमा १ सय १० अर्ब डलरको सम्पत्ति र ८८ अर्ब ५९ करोड डलर निक्षेप थियो । अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट र अन्य नियामक निकायले सिग्नेचर बैंक तथा सिलिकन भ्याली बैंकका सबै निक्षेपकर्ताहरूको हितको रक्षा गरिने र करदातालाई कुनै नोक्सानी हुन नदिने कुरा स्पष्ट पारेका छन् ।
गत हप्ता बन्द भएको सिलिकन भ्याली बैंकमा लगानीकर्ताको अर्बौं डलर फसेक छ । यसबीच सिलिकन भ्याली बैंकको बेलायती व्यापार बिक्रीका लागि एचएसबीसी बैंकसँग सम्झौता भएको छ ।