दमौली । आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।
“नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ,” प्रजिअ रिजालले भने । अप्ठ्यारोमा परेका व्यक्तिलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान चलाएको प्रजिअ रिजालले जानकारी दिए ।
“यो हाम्रो कर्तव्य पनि हो, उहाँहरुको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा पनि विकास होस् भनी अपाङ्गता भएका महिलाको बारेमा थाहा पाएपछि कार्यालयमा नबोलाउनुस्, घरमै पुगेर नागरिकता दिन्छाँै भनेका थियौँ ।” उनले भने ।
चार वर्ष अगाडि घरमै बसिरहेका बेला एक्कासी ढलेपछि उहाँलाई उपचारका लागि लैजाँदा टाउकोमा पानी जमेको छ भनी शल्यक्रिया गर्नुपर्छ भनेर चिकित्सकले सुनाएको निजका श्रीमान् देवराज जीवन गुरुङले जानकारी दिए। “टाउकोमा पानी जमेको छ, शल्यक्रिया नगरे जे पनि हुन्छ भनेर चिकित्सकले भनेपछि शल्यक्रिया गरेपछि त हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगिन्”, उनले भने ।