हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवद्धनमा जोड



पोखरा । गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा बृहत अन्तरक्रिया गरिएको छ । बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तक्र्रिया गरेका हुन् ।

पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा भएको अन्तक्र्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताए।


उनले पर्यटन बृहत् विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यतालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरुप पर्यटन पूर्वाधारका महानगरले काम गरिहेको जानकारीसमेत दिए । सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिए ।

उनका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने यस परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ राखिएको छ, यति नभए पनि पाँचदेखि सात अर्वसम्मको हुनसक्ने अनुमान गरिएको छ । यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताए ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यक औँल्याए । उनले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारीकरणलगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गरे । उनले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्धन लागि सहकार्यको आवश्यता औँल्याए।

नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यतामा जोड दिए । उनले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिए।

पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्को स्थानको गन्तव्य पहिचान र प्रवद्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताए ।