काठमाडौँ । आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरिँदै छ ।
दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्य तालिका रहेको छ । यसअघि आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्य तालिका थियो ।
गत शनिवार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् ।
निर्वाचनमा देशभरिका त्रिवि अन्तर्गतका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने भएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ ।