सहिद स्मारक ’ए’ डिभिजन लिग : एनआरटी र आर्मीबीचको खेल बराबरीमा सकियाे



काठमाडाैँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबातोस्थित च्यासल मैदानमा आज भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् । एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिस एमबोउमीले एक गोल गरे भने आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले एक/एक गोल गरे ।


खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियोे । खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । खेलको ५२औँ मिनेटमा एनआरटीका लालनुनजामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५७औँ मिनेटमा एनआरटीका एमबोउमिले पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ ले आगाडि बढाए । खेलको ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ गोलको अग्रता बनाए ।

त्यसपछि खेलको ६८औँ मिनेटमा आर्मीका सुदिलले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । खेलको ८६औँ मिनेटमा आर्मीका अर्का खेलाडी दिनेशले फ्रिकिकमार्फत गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । यस बराबरी खेलसँगै एनआरटीले ३ खेलमा १ अङ्क जोडेको छ । समान तीन खेल खेलेको आर्मीको पाँच अङ्क भएको छ ।

आजै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्र्दै अङ्क बाँडेका छन् । यस बराबरीसँगै मनाङले ३ खेलमा ५ अङ्क जोडेको छ । साविक विजेता मछिन्द्रले ३ खेलमा १ अङ्क जोडेको छ ।