काठमाडौँ । नमोबुद्ध नगरपालिकाले पालिकाभित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी अभिमुखीकरण गरेको छ ।
नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिसबारे अभिमुखीकरण गराएको सहकारीको जिम्मेवारी लिएको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिए । कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनीयर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए ।
कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्याङ्कलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो । उपशाखा प्रमुख सनुवारले नगरभित्रका सहकारी संस्थालाई क्रमशः कोेपोमिसमा आबद्ध गर्दै लैजाने बताए ।
तालिमको उद्घाटन गर्दै नगरप्रमुख कुसन्साङ लामाले नगर क्षेत्रका सहकारीलाई व्यवस्थित गर्दै लगिने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सहकारीसम्बन्धी तथ्याङ्क व्यवस्थित गर्दै सहकारीले गरिबी निवारण र आर्थिक समृद्धिमा योगदान गर्नुपर्ने बताए ।