लोप हुँदै चैतलो र हुड्के नाच



खलङ्गा । चैत महिनामा हुड्को बजाउँदै सुमधुर स्वरमा चैतलो गाउने र गाउँघरका सबै जम्मा भएर सुन्ने मौलिक परम्परा क्रमशः हिजोआज लोप हुन थालेको छ । पुर्खाको पालादेखि चैत महिनामा हुड्कौली नाचसँगै चैतलो सुन्ने, सुनाउने चलन पछिल्लो समय बढ्दो आधुनिकतासँगै लोप हुन थालेको शैल्यशिखर–६ का अध्यक्ष जगदीश धामीले बताए । केही वर्ष पहिलेसम्म चैत महिनाभरि दार्चुला जिल्लाको धेरैजसो गाउँघर परम्परागत चैतलोको धुनले गुञ्जायमान भइरहन्थ्यो तर हिजो आज चैतलो र हुड्केली नृत्य लोप हुँदै गएको छ ।

सुदूरपश्चिममा चैतको महिनामा छोरी चेली भेट्ने चलन रहेको छ । चैतलोको धुनमा देवीदेवताका गाथासँगै चैतमा बहिनीले दाजु भेट्न आउने मार्मिक गीत गाएर चैतलो पर्व मनाउने परम्परा रहेको छ । परम्परागत संस्कृतिको विविध विधालाई लयबद्ध गरेर गाइने यो पर्व अहिले लोप हुँदै गएको स्थानीय जानकार बताउँछन् । नयाँ पुस्ताले यसबारेमा चासो नदिँदा अर्थात् घरघरमा गएर गाउन अप्ठ्यारो मान्ने भएका कारण गाउने पेसा लोप हुन थालेको चैतलो गाउने देवराम दमाईंको भनाइ छ । अहिले चैतलो कहीँकतै सुन्न सकिए पनि चैतलोमा गाइने परम्परागत गीत तथा कथा भाव लोप हुन थालेको मालिकार्जुन–३ का स्थानीय इन्द्रसिंह धामीले बताए ।


दार्चुलामा अधिकांश वादी समुदायले चैतलो गाउने गर्दछन् । चैत महिनाभरि गाउँगाउँ पुगेर चैतलो गाउदै हुड्केली नाच गरेर अन्न तथा पैसा माग्ने चलन रहेको भए पनि पछिल्लो पुस्ताले चासो नदेखाउँदा पेसा र संस्कृति लोप हुने चिन्ता रहेको महेश वादी बताउँछन् । उनी भन्छन्, ‘चैत महिनाभरि गाएर हामीलाई कम्तीमा पनि पाँच÷छ महिनासम्म खान पुग्थ्यो, तर हाम्रा छोराछोरीले चासो नदेखाउँदा पेसा लोप हुने चिन्ता छ । दार्चुला तथा सुदूरपश्चिममा चैत महिनामा गाउँगाउँ घुमेर दमार्इं तथा वादी समुदायले चैतलो गाउने चलन छ ।

भारतको उत्तराखण्ड क्षेत्रमा समेत चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाइले दिदीबहिनीलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा गीत गाएर सुनाउने परम्परालाई चैतलो भन्ने गरिन्छ । जसको घरमा चैतलो गाइयो उसले दक्षिणा स्वरुप अन्न, रुपैयाँ र अन्य वस्तु चैतलो सुनाउनेलाई दिनुपर्ने हुन्छ । यसलाई जातीयरुपमा पनि हेरिएका कारण लोप हुन थालेको लेकम–४ का गोविन्दसिंह धामी बताउँछन् । चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको महत्व पछिल्लो पुस्ताले बुझ्न नसक्दा चैतलो लोप हुने अवस्थामा पुगेको स्थानीय संस्कृतिविद् देवराज विष्टको भनाइ छ ।

उनका अनुसार चैतलोमा विशेष गरेर कालीनाग र उसकी पत्नीसँग जोडिएको कथा सुनाउने गरिन्छ । परापूर्वकालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसँग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटेर गाइने परम्परा रहेको जानकार गङ्गादत्त जोशीले बताए । रानादेउका छोरा साधुवालाले आफ्नी दिदीका बारेमा थाहा नपाउँदा साथीले बिनादिदीबहिनीको भाइ भनेर जिस्क्याउँदा सहनुपरेको पीडा पनि चैतलोमा गीतमार्फत वर्णन गर्ने गरिएको छ ।

विशेष इतिहासका रुपमा रहेको चैतलो र हुड्कौली नाच जोगाउन कसैले ध्यान नदिँदा चैतलोमा समेटिएको इतिहास लोप हँुदै गएको छ । सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण चैतलो र हुड्केली नृत्य जोगाउन स्थानीय तहलेसमेत ध्यान दिनु आवश्यक रहेको स्थानीय संस्कृतिविद् बताउँछन् ।