ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात



काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहीबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर टिमलाई ५१ रनले हरायो ।

१३८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८६ रन मात्रै बनाएपछि सुदूरपश्चिमले सानदार जित निकालेको हो । ललितपुरका लागि लक्ष्मी चौधरीले २५, हेलिशा गुरुङले १९ र कञ्चन श्रेष्ठले १६ रन बनाइन् ।


बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनौजियाले दुई विकेट लिइन् । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १३७ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अर्धशतक बनाइन् ।

उनले ४५ बलमा ६ चौका प्रहार गर्दै अविजित ५१ रन बनाइन् । त्यस्तै, रुवि पोद्दारले २८, कविता जोशीले अविजित २७ र कप्तान विन्दु रावलले १८ रन बनाइन् । बलिङतर्फ ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन् ।