काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने भएको छ ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनको आधारमा महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा यस्तो निर्णय गरेको महान्यायाधिक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।
राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धानको फाइल आइतबार महान्यायाधिवक्ता कार्यालय पुगेका थिए । प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा फाइल पेस गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा मुद्दा नचल्ने निर्णय गर्दै पठाएको थियो । लामिछानेको नेपाली र अमेरिकी राहदानी रहेको तथा उनले एकै पटक दुई वटा राहदानी प्रयोग गरेको आरोप लागेको थियो ।
अमेरिकी राहदानी नबुझाई नेपाली प्रयोग गरेको पाइएपछि उनी विवादमा परेका थिए । लामिछाने सुरुमा नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरि विवादमा परेका थिए।
उक्त विवादमा सर्वोच्चले उनीसँग नेपाली नागरिकता नभएको फैसला गरेको थियो । लगत्तै उनले जिल्ला प्रशासन कार्यालय पुगेर प्रक्रिया पूरा गरेर नागरिकता लिएका थिए । सर्वोच्चको फैसलासँगै उनले सांसद र मन्त्री पद गुमाएका थिए।