राष्ट्रपतिका प्रतिस्पर्धी नेम्वाङ र पौडेलले एक–अर्काको प्रशंसा गर्दै दिए शुभकामना



काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सुवासचन्द्र नेम्वा र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक–अर्काको प्रशंसा गर्दै विजयको शुभकामना दिएका छन् ।

आज (बिहीबार) संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् । राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान जारी छ । निर्वाचनमा दुई पूर्व सभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदैछ ।


‘लोकतन्त्रका लागि र व्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भूमिका छैन,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन् ।

नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्त्वपूर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’

लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ– जसले जीते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनीको शासनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सवालमा, मधेस देखी हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’

लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्बाङले बताए ।