युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले युद्धग्रस्त आफ्नो राष्ट्रले युरोपेली सङ्घ (ईयू) मा सामेल हुन वार्ता सुरु गर्न दबाब दिइरहेका बेला कीभले युरोपेली सङ्घका सबै सिफारिसहरू पूरा गरेको बताएका छन् ।
सन् २०१४ मा इयू समर्थक क्रान्ति गरेको युक्रेनले एक वर्षभन्दा बढी समयदेखि रूसी आक्रमणको सामना गरिरहेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश यसै वर्ष युरोपेली सङ्घमा सामेल हुन वार्ता सुरु गर्न योग्य रहेको बताए ।
युक्रेनले आफ्नो राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरोको नयाँ प्रमुख नियुक्त गरेको र यसले ईयूलाई आवश्यक सुधारको एक चरण पूरा गरेको शमिगलले बताए ।
‘युक्रेनले ईयूका सातवटै सिफारिस पूरा गरेको छ । यसले यस वर्ष ईयू प्रवेश वार्ताको सुरुवातमा अगाडि बढ्ने हाम्रो दृढतालाई दर्शाउँछ,’ उनले भने । उनले ४० वर्षीय सेमेन क्रिभोनोसलाई भ्रष्टाचार विरोधी एजेन्सीको नयाँ प्रमुखमा नियुक्त गरेको घोषणा गरेका छन् ।
क्राइभोनसले यसअघि युक्रेनको शहरी योजना मन्त्रालयको नेतृत्व गरेका थिए । रुसले चौतर्फी आक्रमण सुरु गरेको चार महिनापछि ब्रसेल्सले गत वर्ष जुनमा कीभलाई ईयू सदस्यका लागि औपचारिक उम्मेदवारको दर्जा दिएको थियो, तर, इयूले त्यतिबेला कीभले भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्रता दिने र ‘कुलीनवर्गको अत्यधिक प्रभाव’ लाई सीमित गर्नेलगायत सात वटा सुधारहरू लागू गर्नुपर्ने बताएको थियो ।
ईयूमा सामेल हुने प्रक्रियामा वर्षौं लाग्न सक्छ । युक्रेनको विलयको अन्तिम निर्णय ईयू सदस्य राज्य सरकारहरूमा निर्भर गर्दछ । ईयूका २७ राष्ट्रमध्ये केहीले कीभ मस्कोको आक्रमणबाट मुक्त हुन वा आवश्यक लोकतान्त्रिक र भ्रष्टाचार विरोधी सुधार लागू गर्न सक्नेमा सशङ्कित छन् ।