काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
एक भिडियोमार्फत पौडेलले माओवादीले लडेर ल्याएको व्यवस्था नै उसैलाई साक्षी राखेर उल्टाउने र देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले २०७६ माघ १ गते अध्यक्ष प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएकाले त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे ।
पौडेलले अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको भन्दै यसको पूर्वमाओवादीहरु एक ढिक्का भएर प्रतिवाद गर्ने बताए ।
उनले भने,’प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोल्टिकल’भाषा हो, अदालतमा लैजानु गम्भीर त्रुटी हो । हामीले राजनीतिक, बैचारिक रुपले सशक्त प्रतिवाद गछौं ।’
उनले विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायालयलाई प्रभावित पार्ने काम भएको आरोप लगाए ।
उनले भने, ‘शान्ति प्रक्रियामा भूमिकै नभएकाले न्यायालयलाई प्रभावित पार्न खोजेका छन् । बृहत शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन ।’
संक्रमणकालिन न्यायका मुद्धा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै टुंग्याइने बताए ।