काठमाडौँ । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ ।
भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । ती दुबै सडक निर्माणका लागि महालक्ष्मी/ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ । वडा नम्बर २५ को सडक निर्माणका लागि करबाहेक रु १० करोड ८६ लाख ५३ हजार चार सय ३५ र वडा नम्बर ९ को सडक करबाहेक रु दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्नुहुँदै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताए । उनले भने, “अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।” महानगरपालिकाभित्र रिङरोड र लिङ्क रोड निर्माण अघि बढिरहेको उनको भनाइ छ ।
कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।” सडक कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।