काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेलले चैत ८ गते दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माघ ३ गते प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।
प्रदेशसभाका कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए । प्रदेशसभाका दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेले चैत ८ गते बुधबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविधानको धारा १८८ को २ बमोजिम संसदबाट पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।
सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
मुख्यमन्त्री जम्कट्टेलाई आगामी चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले माओवादी केन्द्र र राप्रपा सत्ता सीमकरण थियो । हाल सरकारमा माओवादी केन्द्र र एमाले मात्रै सहभागी छ ।
संविधानतः मुख्यमन्त्रीलाई समर्थन दिएको वा विश्वासको मत दिएको दल तथा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा सोको ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले फागुन १४ गतेको मितिले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।