प्रधानमन्त्री प्रचण्डले धोका दिनु भयो : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले केही दिनअघि मात्र सरकारबाट अलग्एिको दल राप्रपाले अहिले नै विश्वासको मत दिने अवस्था भई नसकेको बताए ।


‘मलाई धेरै कुरा भन्नु छैन । प्रधानमन्त्री जीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बाटो फेरेपछि रात कटाउन पनि गाह्रो भयो,’ उनले थपे, ‘हामीले निश्चित समझदारी गरेर सरकारमा गएका थियौं । विकास, सेवा र सुशासन जस्ता विषयमा सँगै बसेर काम गर्ने भन्ने सहमति गरेका थियौं । तर बीचमै बाटो फेर्नुभयो ।’

उनले प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा कुनै छलफल नै नगरी निर्णय गरेपछि सरकार छोड्नुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री दाहालले नै विश्वास तोडेर धोका दिएको बताए ।