प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, नयाँ मन्त्रीको शपथ आजै



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

हिजो (बिहीबार) अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । प्रधानमन्त्रीलाई आज दलहरूले आ–आफ्नो दलको तर्फबाट सरकारमा क–कसलाई पठाउने सूची बुझाउने छन् ।


हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।  सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । 

बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा कांग्रेसले निर्णय गर्न सकेको छैन ।

गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।