महोत्तरी । बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ । चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरूमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमा कैद गर्न व्यस्त छन् ।
महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरू घुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै गरेको प्रक्रियालाई झनै चासोपूर्वक नियालिरहेको देखिन्छ ।
माटोका भाँडा बन्दै गरेको हेर्न लालायित भिडले खरिद गर्न भने खासै रुचि नदेखाएको कुम्हालको अनुभव छ । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो, हजुरबुबाहरूले यसैबाट जीविकोपार्जन गर्नुभयो’, रवीन्द्रले भने, ‘तर अब भने यसबाट व्यावसायिक लाभ लिन निकै गाह्रो छ ।’
माटोका भाँडा बिक्री हुन छाडेपछि यी पसलमा भन्दा प्रदर्शनीमा सीमित हुन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।’चक्र घुमाएर भाँडा र खेलौना बनाएको हेर्दै रमाइलो मान्नेहरू धेरै छन्’, उनले सुनाए, ‘तर यस्ता भाँडाको बिक्री भने निकै न्यून छ ।’
महोत्सवमा रवीन्द्रले माटोबाट बनेका अम्खोरा,चिया पिउने प्याला,खुत्रुके र ढकनालगायतका उत्पादन बिक्रीका लागि राखेका छन् । तर यसबाट हुने आम्दानी ज्यादै न्यून रहेको उनको गुनासो छ । उसो त महोत्सवमा मात्रै होइन हाटबजारमा पनि यस्ता भाँडा बिक्री हुन छाडिसकेको उनको अनुभव छ ।
कुनै समय मधेसको प्राचीन मिथिला क्षेत्रमा पानी राख्ने गाग्री (घैँटो, घैला), दही जमाउने छ्याँची, चामल/पीठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्ची पनि माटाकै प्रयोग हुन्थे । तर आधुनिकतासँगै सिल्भर र प्लास्टिकका टिकाउ भाँडाको प्रयोग बढ्न थालेपछि कुम्हालको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ ।
‘माटाका भाँडाको राखनधरन र उपयोग स्वास्थ्यकर हुन्छ’, बर्दिबासका स्वास्थ्यकर्मी राधेश्याम झा भन्छन्, ‘माटाका भाँडाको महत्त्व थाहा नहुँदा र कम टिकाउन हुने कारणले यसको प्रयोग कम हुँदै गएको हो ।’
पछिल्लो समय अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक माटोका भाँडाको प्रयोग लगभग हराइसकेको छ । मिथिलामा चौरचन, दसैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौनाको प्रयोग अनिवार्य जस्तै छ । पितृ कार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । त्यसैले पर्व विशेष र अन्य खास अवसरमा दही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा–५ भूचक्रपुरका काशिलाल पण्डितको भनाइ छ ।
‘विशेष गरी खास पर्व र पितृ कार्यमा यस्ता भाँडाको माग हुन्छ, त्यतिले मात्रै जीवनयापन गर्न सकिन्न’, उनले भने, ‘जसले गर्दा पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।’ उमेरले ६० वर्ष पुगेका काशिलाललाई माटोका भाँडा बिक्न छाडेपछि पेसा हराउने हो कि भन्ने पीर लाग्न थालेको छ । मिथिला क्षेत्रमा माटोका नयाँ भाँडा शुभ कार्यमा उत्तम मानिन्छ । धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा भने यसको माग अझै हुने गरेको छ ।
महोत्सवमा स्थानीय उत्पादन र सीप प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुम्हालको चक्रस्टल’ पनि राखिएको महोत्सव आयोजक बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठले बताए । ‘नयाँ पुस्ताले चाखपूर्वक माटोको भाँडा बनाउने सीपको अवलोकन गरिरहेका छन्’, उनले भने ।
पहिले जीवन गुजारा बनेको यो पेसाको पहिचान सङ्कटमा परेको छ । माटाका भाँडा बनाउने काम अब जीवन धान्ने पेसा नरहेको लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष ज्ञान बस्नेतको भनाइ छ। यद्यपि संस्कृति, परम्परा र पहिचान जोगाउनकै लागि भने पनि यसको संरक्षणका लागि जुट्नुपर्ने उनको सुझाव छ ।