पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?



गण्डकी। राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन्। गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनी सधैँ चिनिए।

अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन्। तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा पुगेका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ।


व्यास–८ रिस्तीको सामान्य किसान परिवारमा जन्मिएका पौडेल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुलाई तनहुँवासीले गौरवका रूपमा लिएका छन्। राष्ट्राध्यक्षका रूपमा पौडेलले देश र जनताको हितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रिय एकता प्रवद्र्धन तथा संविधानको रक्षामा राष्ट्रपतिले निष्पक्ष र अभिभावकीय भूमिका खेल्नुपर्नेमा जनसाधारणको जोड छ। त्रिभुवन विश्वविद्यालय शिक्षा सङ्कायका पूर्वडिन व्यास–३ का प्रा डा कृष्णप्रसाद गौतमले पौडेलजस्तो विचारले निखारिएको, सरल र विवादरहित व्यक्तित्वलाई राष्ट्रपतिका रूपमा पाउनु गर्वको विषय भएको बताए।

“रामचन्द्र पौडेल धेरै खारिएका नेता हुनुहुन्छ, प्रजातन्त्र स्थापनाका लागि उहाँले लामो सङ्घर्ष गर्नुभयो, जेल जीवन बिताउनुभयो, उहाँ निर्वाचित हुँदा राष्ट्रपति पदको गरिमा अझ बढेर गएको छ”, प्रा डा गौतमले भने।

उनले नवनिर्वाचित राष्ट्रपति पौडेलले राष्ट्रहित र लोककल्याणकारी काममा आफूलाई समर्पित गर्नेमा विश्वास व्यक्त गरे। “राष्ट्रपति आलङ्कारिक भए पनि या सम्मानित र महत्वपूर्ण पद हो, विगतमा राष्ट्रपतिको भूमिकालाई लिएर केही टीका–टिप्पणी पनि भए”, प्रा डा गौतमले भने, “रामचन्द्र पौडेल अब तनहुँको मात्र नभई राष्ट्रको अभिभावक बन्नुभयो, उहाँले आफूलाई देशभक्त राष्ट्रपतिका रूपमा सावित गर्नेमा हामी आशावादी छौँ।”

तनहुँ–२ का पूर्वसांसद केदार सिग्देलले राष्ट्रपतिले साझा भूमिका निर्वाह गर्नुपर्ने बताए। “नवनिर्वाचित राष्ट्रपति तनहुँबाटै राजनीतिमा स्थापित हुनुभएको हो, उहाँ हाम्रो अग्रज पनि हो, जिल्लावासीका रूपमा हामी सबैका लागि यो गर्वको विषय हो”, उनले भने।

नवनिर्वाचित राष्ट्रपति पौडेलका छिमेकी व्यास–२ अमरापुरी निवासी सावित्री अधिकारीले आफूले मत दिएर पठाएको व्यक्ति मुलुकको सर्वोच्च पदमा पुग्दा खुसी लागेको बताए। “घर आउँदा सन्चोबिसन्चो सोधिराख्नुहुन्थ्यो, आज उहाँ राष्ट्रपति भएको थाहा पाउँदा धेरै खुसी लागेको छ”, अधिकारीले भने, “देश र जनताका लागि राम्रो काम गर्नुहुन्छ भन्ने आशा छ।”

पौडेलको जन्मगाउँ व्यास–८ रिस्तीका वडाध्यक्ष युवराज गुरुङले पौडेल राष्ट्रपति निर्वाचित हुँदा वडावासीमा खुसीयाली छाएको बताए। नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले राष्ट्रलाई एकताबद्ध गर्न र संविधानको रक्षार्थ राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले नवनिर्वाचित राष्ट्रपति पौडेलमा रहेको इमान, निष्ठा र त्यागको चरित्रले राष्ट्रपति पदको गरिमा अझ बढ्ने धारणा राखे। “तनहुँ साहित्य क्षेत्रमा जसरी प्रख्यात छ, राजनीतिमा पनि उत्तिकै चर्चित छ”, अधिकारीले भने, “नवनिर्वाचित राष्ट्रपतिले निर्विवाद भूमिका खेल्नेमा हामी विश्वस्त छौँ।”