पर्वतका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व



पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदीपूजा (नदी पर्व) पर्वत र बागलुङको मालढुङ्गाका माझी समुदायले मङ्गलबार धुमधामसँग मनाएका छन् ।

सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुङ्गा (नाउ) मा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदीपूजा पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गामा अहिलेसम्म लदीपूजा हुनसकेको थिएन ।


द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा पूजा हुनसकेको थिएन । अल्पसंख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्वकालदेखि नै खोलाको किनारमा बसी माछा मार्ने, डुङ्गामा राखी मानिसलाई नदी तारिदिने काम गर्थे । उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।

लदीपूजा गर्नाले माझी समुदायको मुख्य पेसाका रूपमा परिचित पुख्र्यौली पेसा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ । वर्षातको समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।

कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले माझी समुदायका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए । उनले माझी समुदायलाई वैकिल्पक बासस्थानको व्यवस्था र पेसाका लागि नगरले पहल गर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख स्वस्थानी रिजालले सीमान्तकृत वर्गमा रहेका माझी समुदाय परम्परागत पेसाबाट आत्मनिर्भर हुन नसक्ने अवस्थामा रहेको बताउँदै वैकल्पिक आयआर्जनको पेसामा लाग्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् । साथै बर्खाको समयमा नदी किनारमा बाढी–पहिरोको जोखिम बढ्ने भएकाले उनीहरूले लामो समयदेखि माग गर्दै आएको स्थानान्तरणको समस्याका बारेमा समेत अध्ययन गरिने बताइन् ।

पर्वत र बागलुङको सङ्गमस्थलमा पर्ने मालढुङ्गामा झण्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । लदीपर्वका लागि कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको हो । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्ने कामदार पछि माझीको रूपमा यहाँ बस्दै आए पनि अहिलेसम्म राज्यले कुनै सहयोग नगरेको स्थानीय सरु माझीले बताइन् । उनीहरु अहिले कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालनलगायतका व्यवसाय गर्दै आएका छन् ।