नेपालको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान



काठमाडौँ । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० ले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको छ ।

पाइलटद्वय भावना पन्त गिरी र सृजना रावलको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेको हो । उनीहरूलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।


दुई दिनअघि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो । विमानका क्रु मेम्बर पनि सबै महिला थिए ।

उनीहरुलाई विमानस्थलमा स्वागत गर्दै पर्यटनमन्त्री किरातीले महिलाले अवसर पाउँदा गर्न सक्छन् भन्ने यो प्रमाण भएको बताए ।

उनले भने, ‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो। बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई । नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्। नेवानिमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु।’