दमौली बजार जोगाउन मादीमा बाँध निर्माण



तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउनका लागि मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गत वर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिमा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास–३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो ।


चालु आर्थिक वर्ष २०७९÷८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्ने गरी एमआर गु्रप चितवनले गत वर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले रू दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । “निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ”, प्रमुख शर्माले भने ।

उनका अनुसार हालसम्म रू २० लाख मात्रै भुक्तानी भएको छ । सोही बजेटमा व्यास–५ पाटनस्थित मादी किनारमा झण्डै एक सय मिटरको बाँध निर्माण भइरहेको छ । व्यास–५ का छ सय ६३ र व्यास–३ का केही परिवार कटानका कारण जोखिममा छन् । टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ गत वर्ष बाढी आएपछि रातभर जाग्राम बस्नु परेको बताउछन् ।