डोटीको रिठा–चन्कट्टे सडक निर्माणमा ढिलाइ



डोटी । डोटीको जोरायल गाउँपालिका अन्तर्गतको बुडर–जोरायल सडकको रिठा–चन्कट्टे सडक खण्ड निर्माणमा ढिलाइ भएको छ । ठेक्का म्याद सकिन चार महिना बाँकी छँदा प्रगती १० प्रतिशत मात्रै भएको पाइएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने गरी सडक निर्माणको सम्झौता २०७७ असारमा भएको थियो । निमार्ण कम्पनीको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको स्थानियको आरोप छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट मार्फत उक्त सडक खण्डको स्तरोन्नतिका लागि शर्मा–राजेन्द्र जेभीसित ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सो काम २०८० असारभित्र सम्पन्न गर्नुपर्ने छ ।


‘हालसम्म प्रगति १०-१२ प्रतिशत मात्र भएको छ’, पूर्वाधार विकास कार्यालय, डडेल्धुराका प्रमुख नवराज रावलले भने, ‘तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना न्यून छ ।’ ठेकेदारको लापरवाहीकै कारण सडक स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए ।

निर्माण कम्पनीले कोभिड–१९ महामारीलगायत कारण निर्माणमा ढिलाइ भएको जनाएको छ । सम्झौताको अवधि भित्रै काम सम्पन्न गर्ने प्रयास गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि रोशन भट्ट बताउँछन् । १० किलोमिटरमध्ये आठ किलोमिटरमा सबै काम समयमै सम्पन्न हुने उनले दाबी गरे ।

पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले निर्माणमा चासो नदिएको जोरायल–४ का वडाध्यक्ष नन्दराज भट्टको आरोप छ । नदी किनारमा तटबन्ध निर्माण नहुँदा स्थानीयको घर कटानको जोखिममा परेको उनको भनाइ छ ।