डढेलो नियन्त्रणका लागि उच्च सतर्कता



चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।  चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा  वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ । उनका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित परिचालन गरिने सूचना अधिकारी तिवारीले जानकारी दिए ।


डढेलो लाग्न नदिन  निकुञ्जले वन क्षेत्र नजिक बसोबास गर्ने समुदायलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको र नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्रभित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थितरुपमा डढेलो लगाउने गरेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार घाँसे मैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थितरूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहनसमेत निकुञ्जले आह्वान गरेको छ । 

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वनअन्तर्गतका आठवटै सवडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

 उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उनले बताए । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्तासमेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने सूचना अधिकारी खनालको भनाइ थियो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरिरहेको छ ।
 
वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक्र्याई गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उनले बताए । विगतमा बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको थियो।