जसपाकी मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकाे जानकारी गराएको छ । आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन् । विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो । सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।


शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी सङ्घीय संसद् र सम्बन्धित दललाई दिइने प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।