काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।
निकट स्रोतका अनुसार चैत ६ गते पार्टीका सांसद र मन्त्रीलाई कतै कार्यक्रम नपार्नसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।
एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।