ग्रीसमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु



ग्रीसमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक रेल आपसमा ठोक्किएका हुन् । यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो ।


दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसले बताएका छन्।