खप्तड गोल्डकपको तयारी पूरा



सुदूरपश्चिम । धनगढी रङ्गशालामा बिहीवारदेखि सुरु हुने ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फूटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । बुटवललगायतका ठाउँमा जारी फूटबल प्रतियोगिता पूरा हुन बाँकी रहँदा खप्तड गोल्डकप, २०७९ को खेलतालिका सार्वजनिक गर्न ढिलाइ भएको आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।


उनले भने, “खेलतालिका आजै बेलुकासम्म सार्वजनिक गर्ने प्रयासमा छौं ।” प्रतियोगिताको पहिलो दिन बिहीवार हुने उद्घाटन खेलमा नेपाल एपिएफ क्लब काठमाडौँ र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी, थ्री स्टार, खुमलटार एफसी, सुदूरपश्चिम-११, नेपाल प्रहरी, एपिएफ, बागमती युवा क्लब, एभिनियर क्यामरुनलगायत १० फूटबल टीमले प्रतिस्पर्धा गर्न लागेका छन् । प्रतियोगिता हेर्नका लागि विद्यार्थीको हकमा रु एक सय र अन्यका लागि रु एक सय ५० टिकट दर तोकिएको छ ।

प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेतालाई रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ । धनगढी रङ्गशालमा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।