कोसी प्रदेश नामको विषयमा अब छलफलसमेत हुँदैन : मुख्यमन्त्री कार्की



ओखलढुङ्गा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे ।


“कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन”, उनले भने, “हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।”

देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उनले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।