काम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ।

काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता मिति पूरा भई दुईवर्ष बितिसक्दा एक ठाउँमा मात्र पिल्लर उठाएर निर्माण बीचमै छाडेपछि काम अलपत्र परेको छ।


पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम नगरी सम्पर्कविहीन भएपछि डिभिजन कार्यालय चौरजहारीले अन्तिम पत्र लेख्दै ठेक्का तोडने चेतावनी दिएको हो। काम गर्ने भए विश्वसनीय कार्ययोजनासहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम पटक चेतावनी दिइएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए। 

यसअघि म्याद थप गर्दा गरिएका प्रतिबद्धता अनुसार काम नभएको भन्दै कार्यालयले १५ दिनभित्र विश्वासनीय स्पष्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित आउन अन्तिम चेतावनी पत्र लेखेको छ। 

कार्यालयले चेतावनी पत्रलाई अटेर गरी सम्पर्कमा नआए ठेक्का रद्द गर्ने चेतावनी दिएको छ। यहाँ काम गर्ने मजदुरले यसअघि काम गरेको पारिश्रमिक समेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए। 

रुकुम पश्चिम आठबीसकोट नगरपालिका ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे। गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख र स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेका मजदुरले रू छ लाख नपाएको बताएका छन्।

स्थानीय चङ्खलाल नेपालीको ट्र्याक्टर प्रयोग गरेबापत निर्माण कम्पनीले ६ लाख र मजदुरले खाना बापतको दुई लाख भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन्। जाजरकोट खण्डमा सामान्य पिलर उठाइएको छ। कम्पनीले छेडागाड नगरपालिकाका प्रमुख रत्न खड्काले बैंक ग्यारेन्टी राखेर काम सुरु गरेको थियो।

सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की बराबरको रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए। नौ करोडमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ। 

खड्काले बीचमै काम छोडेपछि निर्माणको जिम्मा लिएको मृत सञ्जीवनी गाल्वा जेभीले हालसम्म काम अघि बढाएको छैन। भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने उक्त पुल सात वर्षसम्म निर्माण नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ। साथै भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने कामसमेत अवरुद्ध भएको छ। 

त्यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गसँग भेरी करिडोर जोड्ने रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पूर्तिमकाँडा–गराइलाको बीचमा रहेको सानी भेरीको पुलसमेत नौ वर्षदेखि अलपत्र परेपछि सडक डिभिजन चौरजहारीले कारबाही गर्ने अन्तिम तयारी थालेको छ।

सपना सैलुङ जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७१ मङ्सिर २ गते सडक डिभिजनसँग सम्झौता गरेको थियो। सम्झौताको भाका नाघेको दुई वर्ष पूरा हुँदासम्म पनि कामको सुरुवात नगरेकाले सडक डिभिजन कार्यालयले कारबाही गर्न सार्वजानिक सूचना निकालेको छ।

उक्त पुलले पुष्पलाल मध्यपहाडी, भेरी करिडोर सडकसँग जोडिने उद्देश्यले ठेक्का खोलिएको थियो। निर्माण कम्पनीले काम सुरु नगर्दा ठेक्का तोड्ने अवस्थामा पुगेको डिभिजन प्रमुख कर्णले बताए। म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र काम गर्ने प्रतिवद्धतासहित कार्ययोजना तयार गरी सम्पर्क आउन अन्तिम चेतावनी पत्र लेखेको छ।

‘चेतावनी पत्रलाई अटेर गरेमा प्रचलित कानुन अनुसार ठेक्का रद्द गरिने छ’, उनले भने। कामको जिम्मेवारी लिएर तोकिएको समयमा पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने प्रमुख कर्णले बताए।