कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) दोस्रो पटक विश्वासको मत लिँदैछन । सत्तामा सहभागी दलमध्ये राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्मा पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका हुन् । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपरेको हो ।


कर्णालीमा कांग्रेस सत्ता बाहिर नै छ । एमालेले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने / नदिने विषयमा कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । कर्णालीमा कांग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् । प्रदेशसभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्दै छ ।