काठमाडाैं । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
हालै काठमाडौंमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।
“नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरेका छन् । छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्छौँ”, उनले भने । “नगरको गरिमा उच्च राख्नमा दुवै खेलाडीले अहम् भूमिका निर्वाह गरेका पुरस्कृत गर्न लागेका उनले बताए।” गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उनले जानकारी दिए ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।