उपराष्ट्रपति उम्मेदवार रामसहायविरुद्ध जनमतको उजुरी



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीले उजुरी दर्ता गरेको छ ।

राष्ट्रपतिमा पुरुष खसआर्य समुदायबाट निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राख्दै जनमत पार्टीले रामसहायविरुद्ध उजुरी दिएको हो । जनमतकी उपराष्ट्रपतिको उममेदवार ममता झाले रामसहायविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको सूचना अधिकारी अमृताकुमारी शर्माले बताइन् ।


यसअघि रामसहायवविरुद्ध एमोलेले समेत उजुरी दिइसकेको छ । निर्वाचन कार्यक्रमअनुसार शनिबार ६ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारविरुद्ध परेको उजुरीको आइतबार १२ बजेसम्म जाँचबुझ गरी निर्णय हुने बताएका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।