उपप्रधानसहित तीन मन्त्रालयमा एकिकृत समाजवादीको दाबी



काठमाडौं । प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले अहिले दुईभन्दा मन्त्रालय दिन नसकिने स्ष्पष्ट पारेपछि बालुवाटरबाट फर्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा उपप्रधानसहित तीन मन्त्रालयको दाबी नछाडेको बताएका छन् ।

केन्द्रीय कार्यालयमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकमा नेताहरुसँग अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले नाम माग्ने बित्तिकै पार्टीबाट उपप्रधानसहित तीन मन्त्रीको नाम पठाउनुपर्ने बताए । उनले मन्त्रिपरिषद् विस्तारमा कुनै ढिला नहुने र प्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई ब्रिफिङ गर्दै सरकारमा जानेको नाम पनिटंग्याएको बताएका थिए ।


प्रधानमन्त्री प्रचण्डले नाम माग्ने बित्तिकै पार्टीबाट मन्त्री हुनेहरुको नाम दिने तयारीमा नेकपा एस छ । नेपालले यसअघि मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरी तीन मन्त्रालय पाउनुपर्ने माग राखेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले तीन मन्त्रालय दिन नसकिने जवाफ दिएका थिए ।

बैठकपछि उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायम रहेको बताए । ’सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको छ । हाम्रो दाबी तीन मन्त्रालयमा हो । क(कसलाई पठाउने भनेर पनि तयारी भइसकेको छ,’ उनले भने । बैठकमा अध्यक्ष नेपालले प्रचण्डसँग तीन मन्त्रालयमा दाबी गरेको बताएका थिए ।

‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ । हामीले तीन मन्त्रालयको दाबी गरेका छौं,’ उनले भने ।