इन्डोनेसियाको इन्धन डिपोमा आगलागी : दुई बालबालिकासहित १७ जनाको मृत्यु



इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा भीषण आगलागी भएको छ । आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा हिजो बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो ।


पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ । इन्डोनेसिया सरकारले घाइतेको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । एजेन्सी