काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जितेका छन् ।
आज (मंगलबार) प्रज्ञा प्रतिष्ठानमा भएको वर्ष प्रशिक्षकको घोषणामा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक अल्मुताइरीले बाँकी चार मनोनीतलाई पछि पारे ।
वर्षको सर्वश्रेष्ठ प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अल्मुताइरीसँगै क्रिकेट टिमका पूर्व प्रशिक्षक डेभ वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनीत भएका थिए ।
वर्ष प्रशिक्षक बनेका अल्मुताइरीले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्याएका थिए ।
उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।
अवार्ड जितेका अलमुताइरी अहिले नेपालको प्रशिक्षक छैनन् ।