संसदमा बदलियो आसन : कांग्रेस सत्ता पक्षमा, एमाले प्रतिपक्षमा



काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले आसन परिवर्तन गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस सत्तापक्षको सिटमा र नेकपा एमाले प्रतिपक्षी दलको सिटमा बसेको छ ।

कांग्रेस सभामुखको आसनको दायाँतर्फ र एमाले बायाँतर्फको सिटमा बसेको हो । यसअघि फागुन १७ गते कांग्रेस र एमाले दुवै प्रतिपक्षमा बस्न खोजेपछि प्रतिनिधिसभाको बैठक नै स्थगित हुन पुगेको थियो ।


गत पुस १० गते एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा बसेको थियो । पुष २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो ।

आज बसेको नेपाली कांग्रेसको बैठकले भोलि प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत दिने र सरकारमा सहभागी हुने निर्णय गर्दै प्रतिनिधिसभाको सत्तापक्षको सिटमा बस्ने निर्णय गरेको थियो ।