संविधान विरोधी शक्तिसँग होसियार रहनुपर्छ : प्रदेश प्रमुख गुरुङ



गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले अहिलेको संविधानमाथि औँला ठड्याउने र असहिष्णुता दर्शाउने शक्तिहरूसँग होसियार रहनुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस समारोहलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक दल र जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले एक थरी मानिस संविधान नै फेर्नुपर्छ भनेर लागिरहेको उल्लेख गरे ।


‘संविधानप्रति वफादार रहेर हामीले शपथ खाएका छौँ, संविधानको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ भनेर वाचा गरेका छौँ, यो विषयमा हामी सधैँ चनाखो र सचेत रहनुपर्छ’, प्रदेश प्रमुख गुरुङले भने। संविधानले निर्दिष्ट गरेबमोजिम जनताको विश्वास जितेर काम गर्न नसकेमा अहिलेको व्यवस्था र संविधान विरोधी भावना अझ मौलाएर जाने उनको भनाइ छ । ‘हाम्रो आचरण, चरित्र जनताले हेरिरहेको छन्, बोली र व्यवहारमा हामी स्पष्ट र दृढ हुनुपर्छ’, प्रदेश प्रमुख गुरुङले भने।

जनताको अपेक्षा बढी भएको उल्लेख गर्दै उनले स्थानीय तहले स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी योजनाबद्ध विकासको खाका ल्याउनुपर्ने बताए । प्रदेश प्रमुख गुरुङले पोखरा महानगरको विकास, प्रगति र उन्नतिसँग देशकै भाग्य र भविष्य जोडिएको बताए ।