विश्वकप लिग-२ : यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य



काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा यूएईले नेपाललाई २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।


यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान गरे । रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहे ।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरे ।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र आसिफले ४६ रनको साझेदारी गरेका थिए । वृत्य सन्दीपको बलमा १८ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । कप्तान सिपी रिजवान ४० बलमा १ चौकासहित २२ रनमा आउट भए । मुस्तफा र आसिफले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आर्यन लर्कान २८ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।