राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुख प्रतिस्पर्धामा



काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मतदान बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा सदस्य (२७५ जना), राष्ट्रिय सभा सदस्य (५९ जना) र ७ वटै प्रदेश सभाका सदस्य (५ सय ५०) गरी ८ सय ८४ जना मतदाता रहेका छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका  वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी रहेको छ । नतिजा सार्वजनिक हुने बित्तिकै नेपालले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउने छ ।