राष्ट्रपतिमा दोहोरिन नपाउने व्यवस्था गरौं : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्न पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था उपयुक्त हुने उनको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसको आज (मंगलबार) देखि काठमाडौंमा सुरु भएको नीति सम्मेलनमा महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौ राष्ट्रपति पाइसकेको हुने बताए । उनले सांसद, मन्त्री भइसकेकाहरुले मुलुकको आर्थिक रुपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरुपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राखे ।


‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, पाउने, दोहो¥याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथग्रहण गर्दैगर्दा पाँचौं राष्ट्रपति नेपाल देशले पाइसकेको हुन्थ्यो । डा. रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो । र, अहिले आएर रामचन्द्र पौडेल हुनुभयो,’ महामन्त्री शर्माले थपे, ‘राजनीतिमा रुपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटी राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको शपथग्रहण गरोस् । तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौं पटक उसले आर्थिक रुपान्तरणको काममा हात हालोस् ।’