राजेन्द्र लिङ्देनसहित राप्रपा नेताले झापा पुगेर भेटे पूर्वराजा



काठमाडौँ । अहिले पनि राजतन्त्र आवश्य रहेको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए ।

भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् । तस्वीरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट,’ तर, राणाले भेटघाट भएको मितिबारे केही खुलाएका छैनन् ।


यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उक्त भेट बुधबार (आजै) भएको पुष्टि गरेका छन् । ‘भेट आजै झापामा भएको हो । राजतन्त्रको वकालत गर्ने पार्टी भएकाले यो भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘यो नियमित भेट हो ।’

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताईएको छ । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी, डा धवलशमसेर जवरा र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

राप्रपा सरकारमा गएपछि पछिल्लो समय राजा र राप्रपाबीच सम्बन्ध चिसिएको अड्कल भईरहेको बेला भएको भेटलाई अर्थ पुर्णरुपमा हेरिएको छ ।

राप्रपाले नेपालमा संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मुद्दालाई जोडतोडका साथ उठाईरहेको छ ।