काठमाडौं । नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।
सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन जोडेको थियो ।
यो जित सँगै नेपालले सन् २०१६ पछि विश्वकपमा खेल्ने छ । त्यसअघि २०१९ मा नेपाललाई एक रनले पराजित गर्दै यूएईले विश्वकपमा स्थान बनाएको थियो ।
आजको खेलमा नेपालका कप्तान देव खनालले ५१ रन बनाए । देवले ८४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । १९–३ को अवस्थामा रहँदा देवले चौथो विकेटका लागि उत्तम रङ्गु थापामगरसँग ८४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । उत्तमले ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाए ।
विशालविक्रम केसीले ३८, दीपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन थपे । नेपालका ओपनर दीपक बोहरा खेलको पहिलो बलमै ‘गोल्डेन डक’ भएका थिए ।
यूएईका ध्रुव पारासर तीन विकेट लिए । कप्तान आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान दुई विकेट लिए । अम्मर बदामी र हर्षित सेठले एक–एक विकेट लिए ।
यूएईको इथन कार्ल डी’सुजाले ५० रन बनाए । आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अम्मर बाडामीले १९, ध्रुव पारासरले १७ र मरुफ मेर्चन्टले १२ रन बनाए ।
यूएईविरुद्ध रोमाञ्चक जित दिलाउन उत्कृष्ट बलिङ गरेका दीपेशले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दीपेशले एक मेडन राख्दै ४२ रन खर्चिए । सुवास भन्डारी र हेमन्त धामीले समान दुई विकेट लिए ।