मासिँदै सिमल, लोप हुँदै गिद्ध



गलेश्वर । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरूले बताए । 

‘वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भने,’अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।’


सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा पाइने यो रुखलाई अङ्ग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री पनि भनिन्छ । औषधीय गुण भएको यो वनस्पति मासिने क्रमले लोपोन्मुख वनस्पतिका रूपमा पुगेको उक्त कार्यालयले जनाएको छ ।

पछिल्लो समय देशभर नै सिमल मासिँदै छ । सिमल मासिएसँगै गिद्ध, अन्य ठूला चरा पनि विस्तारै लोप हुँदै गएका छन् । सिमलको बोक्राको लेप  हात, खुट्टा मर्केको स्थानमा लगाए ठीक हुन्छ, चोट लागेर रगत बगेमा यसको रसले रोक्छ । यसको दानाबाट गम र साबुन बनाइन्छ भने भुवा रगत सफा गर्नसमेत प्रयोग गरिन्छ ।

विसं २०४९ मा सिमल कटानमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको थियो  तर सरकारले नै २०६४ मा कटानमा फुकुवा गरेकाले मासिँदै गएको अधिकृत सापकोटाले बताए । सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो वैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तकमा उल्लेख भएअनुसार स्वीडेनका वनस्पतिविद् एवं जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखअनुसार सिमलका विविध भाग विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै टाउको दुख्दा यसको पातको रस एक-दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पीपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गरेका थिए ।

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेखअनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्ने गरिएको छ ।

आयुर्वेदिक चिकित्सक डा जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।

वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङद्वारा लिखित ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ (सन् २०१७) शीर्षकको पुस्तकअनुसार चेपाङ समुदाय पेट दुख्ने र आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् । सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणले सिमल औषधिजन्य जडीबुटी रहेको देखाए पनि वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।

स्वदेशी तथा विदेशी व्यापारीले कम राजस्व तिरेर हाम्रा वनस्पति विदेश निर्यात गर्छन् र तिनै जडीबुटीबाट बनाइएका औषधि हामी महँगो दाममा खरिद गरिरहेका छौँ । कतिसम्म भने, निकासी हुने हाम्रा केही वनस्पति कुन प्रजाति हो भन्ने राम्ररी यकीनसमेत नगरी व्यापारीलाई छोडपुर्जी दिने गरिएको छ ।

हाम्रा जडीबुटी आफैँले खपत गरी पर्याप्त औषधि उत्पादन गरेर आत्मनिर्भर बन्नसक्ने सम्भावना छ । सिमल नासिएसँगै वातावरणमा समेत असर परेको बताइन्छ । वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कुचिकारका रूपमा यसलाई लिने गरिन्छ । ‘डाइक्लोफेनिक’ औषधि खुवाइएका पशु मरेपछि गिद्धले खाँदा गिद्ध मर्ने भएकाले राज्यले गिद्धको संरक्षणका लागि उक्त औषधि बिक्री वितरणमा २०६३ साल जेठदेखि प्रतिबन्ध लगाएको थियो ।

 विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकामा एशियामा नौ र नेपालमा मात्रै आठ प्रजातिका पाइन्छ । पछिल्लो समय गिद्ध पनि लोपोन्मुख भइसकेको छ ।