मन्त्री नबन्ने गगन थापाको घोषणा, सरकारलाई सफल बनाउने प्रतिबद्धता



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने बताएका हुन् ।

उनले आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए । उनले सरकारले परिणाम दिन नसके पाँचवर्ष वर्ष खेर जाने बताए ।


उनले भने, ‘म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

महामन्त्री थापाले राजनीतिक दलहरु खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए ।

महामन्त्री थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए । थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ । पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।’

महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।