पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती



बनेपा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएकी छिन ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको  छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताइन् ।


उनले अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने बताइन् । मालिक र मजदुरलाई छुट्टयाउन नसक्दा मजदुर आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले मजदुर नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिइन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले मजदुरको बलमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्नु जरुरी भएको बताइन् ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव पोख्रेललगायतले श्रम ऐन कार्यान्वयन गर्न र सामाजिक सुरक्षा कोषमा मजदुर वर्गलाई जोड्न सरकारसँग माग गरे ।

छैठौँं जिल्ला भेलाबाट राजन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।