पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द भएको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले बलुचिस्तानको एकमात्र सेनर क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द गरिदिएको बलुचिस्तान पोस्टले जनाएको छ ।
प्रान्तको राजधानी क्वेट्टामा रहेको सेनर क्यान्सर अस्पतालमा पछिल्लो दुई महिनायता औषधिको आपूर्ति ठप्प रहेको जनाइएको छ । यसअघि बलुचिस्तान उपदान कोषबाट उक्त क्यान्सर अस्पतालमा औषधिका लागि खर्चको जोहो हुँदै आएको थियो ।
औषधि नपाएका कारण उपचारका लागि अस्पताल आएका एक सयभन्दा धेरै बिरामी निराश हुँदै घर फर्किन बाध्य भएको अस्पतालका वरिष्ठ चिकित्सक डा. फेरोज खान अचाक्जाईले जनाएका छन् ।
उक्त अस्पतालले प्रान्तका न्यून आय भएका बिरामीलाई सेवा दिँदै आएको छ । यसबारे पाकिस्तानको स्वास्थ्य विभागका अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले मुलुकमा जीवनदायी औषधिको चरम अभाव रहेको जनाएको थियो ।