दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री, कुन कुन दलले दिँदैछन् विश्वासको मत ?



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिनेछन् । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।


संविधान जारी भए पछि प्रधानमन्त्री बनेको तीन महिना नपुग्दै दोस्रोपटक विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन्, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका छन् ।

नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् ।

कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।