जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय



जनकपुरधाम । जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलाले जनकपुरधामको सरसफाइका लागि टास्क फोर्सको गठनदेखि अगामी शुक्रबार बेलुकी ४ बजे सचेतना ¥याली गर्ने कार्यक्रम तय गरेको छ ।

पाँचदेखि सात सदस्यीय एक टास्क फोर्स गठन गरी सरसफाइसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने र सँगसँगै सचेतनाका कार्यक्रमसमेत चलाउने निर्णय भएको हो ।


काठमाडौँमा पनि २०६१ पछि मात्र सचेतना बढेको र त्यसपछि मात्र सडकमा फोहर फाल्न बन्द भएको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाममा सचेतनाको कमी रहेकाले जागरण चलाउनुपर्ने बताए ।

भण्डारीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पान, गुट्खा खाएर थुक्नेलाई सार्वजानिकरूपमा दशपटक कान समातेर उठबसको कारवाही सुरु भइसकेको जानकारी गराए । कार्यक्रममा बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले जनकपुरधाम सफाइका लागि नियम र कडाइ तथा करवाही आवश्यक रहेको बताए।

सहायक प्रजिअसहित तीनै तहका प्रशासनका प्रतिनिधिले जनकपुरधामको सफाइ हरेक जनकपुरधामवासीको प्रतिष्ठासँग जुटेकाले उपमहानगरपालिकाले नेतृत्व लिन हिचकिचाउन नहुने भन्दै प्रशासनका तर्फबाट कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

घरको अगाडि मुख्य सडकमा फोहर फ्याँक्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र फोहर उठाउन उपमहानगरपालिकाले सक्रियता देखाउनुपर्ने भेलाको निष्कर्ष थियो । कार्यक्रममा उपमहानगर उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्श, युवा क्लब, वडास्तरका टोल सुधार तथा सफाइ समिति, विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिसहित वडाध्यक्ष तथा सदस्यको उपस्थिति थियो ।